Navadurga Handicraft

Care International

Advertiesment

Nine Star Cargo, Thamel, Kathmandu

मुख्य पृष्ठ > मुख्य खबर > योगमायालाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्न माग

योगमायालाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्न माग

angle-heart-200x200

fukuwoka_teej

 -

social

२६ साउन, काठमाडौँ ।
जातीय विभेद अन्त्य र महिला मुक्तिका लागि समाज रुपान्तरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । न्यौपाने बन्धु समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले नेपालको इतिहासमा समाज सुधारक, शान्ति र अहिंसाकी प्रतिमूर्ति, योगसाधनामा संलग्न निश्वार्थ तपस्विनी योगमायाले सुशासन र सत्यका पक्षमा आवाज उठाएर गरेको सामाजिक रुपान्तरण कार्यको राज्यले कदर गर्नुपर्ने आवश्यकता औँल्याए ।

पुरातनवाद र सामान्तवादविरुद्धको अभियानमा प्रखररुपमा आवाज राख्न सफल योगमायाले बालविवाह र बहुविवाह प्रथाको अन्त्य, विधवा विवाहलाई मान्यता दिएर प्रोत्साहन तथा नारी शोषणको अन्त्यका लागि सामाजिक सुधारका पक्षमा अद्वितीय योगदान दिएको भन्दै वक्ताहरुले उनको सराहना गरे ।

सो अवसरमा कानुन, न्याय तथा संसदीयमन्त्री हरिप्रसाद न्यौपानेले सत्यसँगको सामिप्यले सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा योगमायाले गरेको कार्यले स्पष्ट गरेको छ भन्नुभयो । समाजका हरेक व्यक्तिले कर्तव्यसँग धर्म जोडिएको छ भन्ने भावना राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले योगमायाले सामाजिक सुधारको पक्षमा गरेको योगदानको कदर गर्न राज्यले उहाँको सम्मान गर्नुपर्छ भन्नुभयो ।

सो अवसरमा डा केदार न्यौपानेले ओजस्वी नारी योगमायाको जीवन र योगदानको प्रसङ्ग समेटिएको १९ पृष्टको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि प्राज्ञ ज्ञानमणि नेपाल, प्राज्ञ डा जगमान गुरुङ, समाजका अध्यक्ष वामनप्रसाद न्यौपाने, डा गोविन्द कार्की र समाजसेवी मोहन कार्कीले टिप्पणी गर्दै विश्व समुदायले योगमायाको योगदानलाई उच्च कदर गरेर अन्तर्राष्ट्रिय व्यक्तित्वका रुपमा ग्रहण गरिसकेको बताउनुभयो ।

भोजपुरको नेपालेडाँडाको सिम्लेमा विसं १९१७ मा जन्मनुभएकी योगमाया नेपालको प्रथम क्रान्तिकारी महिला अधिकारकर्मीका रुपमा परिचित हुनुहन्छ । उहाँले महिला अधिकारका लागि विसं १९४८ मा नेपालमै पहिलो नारी समितिको स्थापना गर्नुभएको थियो । सो समितिमा दुई हजारभन्दा बढी धर्मरक्षक एवम् अनुयायी थिए ।

महिला अधिकारका अतिरिक्त तत्कालीन समाजमा व्याप्त विकृति र विसङ्गति एवम् भेदभावपूर्ण व्यवहारका विरुद्धमा राणा सरकारद्वारा आफ्ना माग पूरा नभएपछि आफ्ना अनुयायीका साथ उहाँले जलसमाधि लिनुभएको थियो । जागिरदारले मर्नुपर्छ भन्ने हेक्का नराखी लोभी भएर न्याय नदिनाले गरिब निमुखा जनताले सिधा न्याय निसाफ पाउन नसकेको तथा राजाले पनि जनताको अवस्था के कस्तो छ भन्नेबारे आम जनतामा पुगेर जानकारी लिने प्रयास नगरेको भाव योगमायाले कवितामार्फत व्यक्त गर्नुभएको थियो ।

उहाँले विसं १९९८ असार २२ गते हरिशयनी एकादशीको दिन पारेर आफ्ना ६८ अनुयायीसहित अरुण नदीमा हाम फाल्नुभएको थियो ।

यस विषयमा आफ्नो धारणा व्यक्त गर्नुहोस

 

audio-sewa-esangrila-new

walk-on-water-small

Copyright 2013, Esangrila, All rights reserved

Developed   Maintained by : DesignNepal.com